बहुदलीय जनवादलाई विश्वभर फैलाउने एमाले नेताहरुको उदघोष

काठमाडौँ, नेकपा एमालेका शीर्ष नेताहरूले पार्टीको आन्तरिक एकतालाई बलियो बनाउँदै जनताको बहुदलीय जनवादलाई दक्षिण एसिया हुँदै विश्वमा फैलाउने काम एमालेले गर्नुपर्ने समान मत पनि व्यक्त गरेका छन ।

बिहीवारदेखी सुरु पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उनिहरुले जनताको हित हुने गरी आर्थिक सामाजिक रुपान्तरणमा पार्टीलाई राष्ट्रिय राजनीतिको मूलधार बनाउने उद्घोष गरेका छन ।

काठमाण्डौको भ्रिकुटी मण्डपमा सुरु महाधिवेसनमा अध्यक्ष झलनाथ खनालले एकताबद्ध राजीतिक दस्तावेज प्रस्तुत हुने महाधिवेशन ऐतिहासिक हुने जनाउँदै पार्टीलाई वैचारिक र राजनीतिक रुपमा एकढिक्का गराउने उद्घोष गर्नुभयो । कम्युनिस्ट आन्दोलनको इतिहासमा एमाले निरन्तर लोकतन्त्र र परिवर्तनका निम्ति लडिरहने पार्टीका रुपमा स्थापित भएकाले अब यसको प्रतिस्पर्धामा कुनै पार्टी आउन नसक्ने ठोकुवा गर्नुभयो ।

लोकतन्त्रलाई सामाजिक न्यायसहित सबै शोषण, दमन, अन्याय, अत्याचार र विभेद अन्त्य गरेर एमालेले मुलुकको अगुवाइ गर्ने बताउनुभयो ।
खनालले भन्नुभयो, “जनताको जीविका, समाजवाद र अधिकार तथा दिगो शान्ति स्थापना गर्ने पार्टी एमाले नै हो जसले राणातन्त्र र राजतन्त्रका विरुद्धमा लडेर आएको छ ।”
एमाओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन एमालेले चुनौती मोलेर विभिन्न प्रयास गरेको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक समाजवाद स्थापनाको बाटामा अब हामी शान्तिपूर्णरुपमा अघि बढ्ने चरित्रलाई कायम राखी निरन्तर आफ्नो भूमिका निर्वाह गरिने बताउनुभयो ।

वरिष्ठ नेता माधवकुमार नेपाल नेपालमा समाजवाद र कम्युनिस्ट आन्दोलनको भविष्यलाई पाँचौँ महाधिवेशनले नयाँ उचाइ दिएको उल्लेख गर्दै पुँजीवादी क्रान्ति र पार्टीको नवनिर्माणका लागि नवौंँ महाधिवेशन ऐतिहासिक हुने बताउनुभयो । नेपाली समाज पुँजीवादमा गएको भन्ने विचारमा एमालेले अरु कम्युनिस्ट दललाई पनि ल्याउन सक्नुपर्ने जनाउँदै यस विचारमा सहमत भए कम्युनिस्ट पार्टीबीच एकता हुन सक्ने धारणा राख्नुभयो ।एमाले पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीले देखाएको बाटामा निरन्तर अघि बढ्नुपर्ने बताउँदै जनताका पीडालाई ध्यानमा राखेर जनताको अधिकारका पक्षमा दृढतापूर्वक क्रियाशील हुन सबैलाई आह्वान गर्नुभयो ।
उहाँले महाधिवेशनले एकताबद्ध सन्देश दिने बताउँदै तर प्रतिस्पर्धाबाट तर्सन नहुने बताउनुभयो । उहाँले सबै नेताको उचित व्यवस्थापन गर्दै सबै नेताको सम्मानसहित पार्टीको गतिशीलतालाई ध्यानमा राख्नुपर्छ भन्नुभयो ।
संसदीय दलका नेता केपी शर्मा ओलीले नवौ महाधिवेशन भव्यताका साथ अनुकूल निर्णयका साथ औचित्यपूर्ण र न्यायपूर्ण एकताका आधारमा अघि बढ्ने बताउनुभयो । उहाँले एमालेले राष्ट्रिय हित र सार्वभौमसत्तालाई ध्यानमा राखेर विश्वका शक्तिसँग पारस्परिक हात फैलाउने जनाउनुभयो । मुलुक राजनीतिक आर्थिक सङ्क्रमणको अवस्थामा रहेको अवस्थामा जबजको मान्यताका आधारमा मुलुकको शान्तिपूर्ण रुपान्तरणमा एमालेको अगुवाइ आवश्यकता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिलो संविधानसभा असफल हुनाको कारण खोजेर उग्रपन्थी, दक्षिणपन्थी र यथास्थितिवादीका स्वार्थलाई पूरा हुन नदिई मौलिक र राष्ट्रिय दृष्टिकोण बोकेको एमालेको भूमिकाले मात्रै मुलुक सुहाउँदो संविधान दिएर परिवर्तनलाई संस्थागत गर्न सक्छ ।”

उपाध्यक्ष वामदेव गौतमले अन्तरपार्टी जनवादका नाममा अराजकता गर्न नहुने बताउँदै दुनियाँका अगाडि आफ्ना विचार र योजनाबारे छलफल गरेर त्यसको कार्यान्वयनका लागि सही र सुदृढ नेतृत्व चयन महाधिवेशनबाट आउनुपर्छ भन्नुभयो ।

तीन वर्ष पहिले पार्टीको सुदृढीकरण गर्ने बाह्रबुँदे प्रस्तावका आधारमा पार्टी दोस्रो शक्ति भएको स्मरण गराउँदै उहाँले महाधिवेशनले नयाँ एकताको सन्देश दिएमा मुलुकलाई अगुवाइ गर्ने पार्टीका रुपमा स्थापित गर्ने बताउनुभयो ।

गौतमले राजतन्त्र ढलेर गणतन्त्र आउनु युगान्तकारी परिवर्तन भएकाले नेपाली समाजलाई समृद्धि दिलाउने अबको दायित्व रहेको बताउनुभयो ।

उहाँले २१ औं शताब्दीमा समाजवादमा जाने बाटो फौज वा युद्ध हुन नसक्ने बताउँदै जनताकै बीचबाट प्रतिस्पर्धामा श्रेष्ठ भएर समाजवादमा जान सकिने धारणा राख्नुभयो ।
एमाले सरकारमा सामेल नहुँदा संविधान नबन्ने, सरकार अस्थिर हुने र नेपालमा अस्थिरता हुने देखिएकाले काँग्रससँग मिलेर संयुक्त सरकार गठन गरिएको जनाउँदै उहाँले व्यवस्थापिका –संसद्बाट पारित भएको सरकारको नीति तथा कार्यक्रममा पनि एक वर्ष संविधान बनाउने तथा मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लाने, स्थानीय निकायको निर्वाचन गर्ने र मुलुकलाई शान्तिमा रुपान्तरण गर्ने उल्लेख भएको बताउनुभयो ।
उपाध्यक्ष विद्यादेवी भण्डारीले जबजको मार्गदर्शनमा त्यसको सही कार्यान्वयनकर्ता पार्टीका रुपमा एमालेलाई रुपान्तरण गर्न महाधिवेशन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

महाधिवेशनको उद्घाटनमा शुभकामना दिएर बाहिरिने क्रममा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीलाई भृकुटीमण्डपको मूल प्रवेशद्वारमा केही व्यक्तिले अभद्र व्यवहार गरे ।

उद्घाटनसत्रमा भित्र प्रवेश नपाएका एमालेका केही कार्यकर्ताको आक्रोशका क्रममा भएको सो घटनानिन्दनीय भएको बताउँदै एमालेका महासचिव ईश्वर पोखरेलले उद्घाटन सत्रमा खेद व्यक्त गर्नुभयो । उहाँले दोषीमाथि कारबाहीको माग गर्नुभयो ।

महाधिवेशनमा मनोनयन हुने एक सय ११ प्रतिनिधिबिना नै उद्घाटनसत्र सम्पन्न भएको छ । बिहान बसेको स्थायी कमिटीको बैठकमा सहमति जुट्न नसकेपछि आज राति र शुक्रबारसम्ममा निर्णय गरेर मात्रै बन्दसत्र सुरु हुनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु