इश्वरले बनायो मानिस, मानिसले जन्मायो जात ……………..!!!

-भीमसेन सापकोटा,

सृस्टिेको प्रारम्भमा मानिसको जात केवल मानिसनै थियो ,काला हुन वा गोरा ,नाक चुच्चा हुन वा थेप्चा,हात्ति आंखे हुन वा गोलभेँडा आंखे ,…आखिर उनिहरूको पहिचान मात्र मानिस थियो। तर जव शक्तीशाली र हुनेखानेहरूले निर्धा र निर्वलहरू माथी शासन प्रभाव जमाउने प्रपन्चको रचना भयो , यहि प्रपन्चका विच जन्मिए अनेक जात जाती  र समूह । रुप ,रङ्ग,आकार र चलनका आधारमा रह्यो समुहगत नाम।

धर्म र शास्त्रहरूलाई बङग्याउंदै जातियताको खाडल अझ बलियो पारियो र यसैलाई आधार मान्दै बलिया पङ्तिका जातिहरूले कमजोरहरूलाई युगौ सम्म सामन्ति शासन चलाउने मजबुत परम्परा बसालियो। यो पुरातन ढुङ्गे सभ्यता र चलनलाई अनेक युगमा जन्मिएका समानताका आवाजहरूले कतिपय राज्यहरूमा छिमोल्दै लग्यो । तरपनि यो पुरातन चलनका अवशेषहरूलाई जीवन्त राख्ने राज्य र समाजका सँख्याहरू पनि कुनै कमि भएनन्। देवासुर सङ्ग्राम पुस्तकमा लेखक मोदनाथ प्रश्रितले औंल्याए झै पुरुष हरूले महिलाहरूलाई आफ्नो कब्जामा राख्न साझा श्रीमती र सामुहिक विवाहको पद्दतीलाई हटाएर एकनिस्ठ विवाह प्रथा शुरु गरिएको थियो । यसपछिनै पुरुष समूहले महिला समूहलाई कजाउन दुई वर्ग बनायो। मध्ययुग मा फेरि पुरुषहरुले समुहगत स्वार्थलाई टिकाउन र निर्धाहरुलाई दलाउन जात-जातिगत कलहको विजारोपन गर्यो। जव आँखाहरूले नियतवस विभेद खोज्छन ,तव समानताका विच पनि विभेदका सिमा रेखाहरू भेटिन्छन् । अलवर्ट आइन्स्टाइनको विज्ञानको भाषामा समय स्पेस कै चौथो आयम हो। समयले नै हर युगमा जन्मिएका कलुषित सामन्ती परम्परालाई पखाल्छ तर स्वत: स्फुर्त परिवर्तनका लागि यसले लामो मिती चाहिन्छ। मनोविज्ञान अनुसार् जातियताको लेप लागेर पिडित बनेका समूह आफ्नो पीडा र कुण्ठा बाट दुखी भए पनि उनिहरु त्यसैलाई स्वीकार्न  अभ्यस्त भइसकेको हुनाले उनिहरूमा निहित अचेतन परिवर्तनको भयका कारण त्यसबाट तत्काल स्वतन्त्र हुन चांहदैनन्। यसैकारण युग परिवर्तन् हुँदा पनि कथित तल्ला जातिहरूले ठुला भनौंदा जातिहरूको खुलेआम विरोध गर्न सकेका छैनन्। करिव ५ हजार वर्ष पहिले रचित वैदिक ग्रन्थमा मानिसले जीविकाको लागि गर्ने पेशा, गुण र कर्मको आधारमा जात बानाइएको उल्लेख छ। हिन्दू धार्मिक ग्रन्थ गितामा कृष्णले ‘सन्सारलाई दिब्य आँखाले हेरौ ,त्यतिखेर सबै समान देखिने छन् त्यहा कुनै ब्यक्ति विशष जन्मको आधारले ठुलो सानो हुने छैन भनेका छन्।

“ब्राम्हणोस्य मुख मासीद बाहु राजन्य : क्रित: उरुतदस्य यद्वैश्य : पद्भ्याम सुद्रोअजायत्: “

भनेर वेदमा वर्ण ब्यवस्था लाई प्रतिकात्मक रुममा उल्लेख गरिएको छ।

“चातुर्वर्ण्यम मया स्रिस्टम गुणकरमविभागश :”-(भागवत गीता ४।१३ ) भनेर गीतामा गुण र कर्म को आधारमा मात्र चार वर्ण रचेको प्रस्ट उल्लेख छ। यस बाट प्रस्ट छ कि बैदिक ग्रन्थ जातिगत सामाजिक परम्पराको विरोधमा वकालत गर्छ ,यहा भनिएको चार वर्ण केवल मानिसको कर्मको विवरण मात्र हो।

जन्मले मानिस ठुलो र सानो जाति हुँदैन कर्म र पराक्रमले मात्र उनिहरु महान हुन्छन् भन्ने कुरा बेदका रचयिताले नै दर्शाएका भेटिन्छ। यसैलेत मानव सभ्यतको पहिलो ग्रन्थका रचयिता वेदब्यास स्वयम् माझि पुत्र थिए ।

ॠषि वशिस्ठ वादिपुत्र थिए, ॠषि वाल्मीकी जनजाति पुत्र थिए ,महात्मा विदुर दासी पुत्र थिए । विश्वामित्र ॠषि क्षत्रिय थिए र पनि रामका गुरु थिए । यसैगरी येतरेयोपनिशदका प्रणेता ॠषि एतरेय शुद्रकुलकै थिए तर यी सबै सम्पुजनिय र सर्वप्रिय थिए। भगवान गौतम बुद्दले भने झै “अप्पदिपो भव “आफै दिपक बनेर हेर्न सके यहाँ न कोहि दलित देखिन्छ न कुनै उच्च जातिनै बरू सबै समान हुनेछन्। ओशो ,जैन ,महाविर ,रामक्रिष्ण ,विवेकानन्द ,रविशन्कर ,महात्मा गान्धी ,स्वामी प्रपन्नाचार्य (ठुले राइ) आदी सबै अध्यात्मिक सन्तहरूले सबैले यहि बोली बोलेका छन् ;-वैदिक सनातन धर्म जातिगत ब्यवस्था र छुवाछुतको विरोधमा र समानताको पक्षमा छ। केवल धार्मिक ग्रन्थको अपब्याख्या गरि धर्मलाई हतियारको रुपमा प्रयोग गर्ने सामन्ती शासक , पाखण्डी पण्डित,पुरोहित र सामन्ती खेमामा उभिएका कथित वाहुन हरूले मात्र मध्यकालिन युगको अन्त्य संगै छुवाछुत र जातियताको शुरुवात गरेको देखिन्छ। जनतामा जातिगत फुटल्याई आफ्नो प्रभाव टिकाइ राख्न शासकरूले र केहि सामन्तका प्रिस्ठपोषक बाहुनहरूले नेपाल र भारतमा यो जातिगत सामाजिक प्रथालाई निरन्तरता दिएका इतिहास जीवित छ।

आफुजस्तै मान्छेले जन्मको आधारमा आफूलाई दोस्रो दर्जाको नाकरिक को रुपमा ब्यवहार गर्दा पिडितहरूले न्यायका लागि रगत उमाल्नु,सचेत बन्नु ,समानताको धावा बोल्नु अत्यन्त स्वभाविक छ। खालि खुट्टा हिड्नेहरूलाई मात्र माटोको तातो र चिसो पन थाहा हुन्छ,एक पटक हामि सबैले ती पीडित जातिहरूको स्थानमा आफूलाई राखेर हेर्ने हो भने त्यतिबेला मात्र असमानताले दिलाएको पीडाको आत्मा अनुभुती हुन्छ। तर यतिवेला जातियताको पिडामा परेका तमाम दलित तथा जातजाती हरूले कुनै एक पात्रको हैन प्रव्रित्तीको विरोध गर्नेबेला भएको छ र यसैमानै जातिय आन्दोलन को सफलता निहित छ। कुनै एक बाहुनको छोरो ,वा मानव सभ्यतालाइनै “वसुदैव कुटुम्वकम ” भनेर उद्घोष गर्ने पवित्र वैदिक सनातन हिन्दू धर्मको होईन बरु सामन्ती कित्तामा उभिएका पाखण्ड ब्राम्हण र तीनले पालेका असमानतावादी दिमागी सोचलाई च्यातचुत पार्ने बेला भएको छ।

एन्थ्रोपोलोजिका अनुसार कुनै एक जाति मानौ तराईको सतारहरुले   यदि हिमालमा गएर १७ पुस्ता सम्म विताए भने भौगोलिक वातवरणले   गर्दा उनिहरु शेर्पा जस्तै रुप रङका बन्छन्। यस्तै हिमालका शेर्पा दाजुभाई तराइमा गएर १७ पुस्ता विताए भने उनिहरु सतार जस्तै रुप रङगका बन्छन्। त्यसैले भुगोल ,सन्स्कार तथा रितिरिवाजको आधारमा बनेको हामि विचको फरक पनलाई कथित जातियताको लेप लगाउनु,बैदिक हिन्दू धर्म र अध्यात्मिक हिसावले ,मानव अधिकारका दृष्‍टिले ,र सामाजिक न्यायका हिसावले जघन्य अपराध हो। जो जातिय विभेदको पक्ष्यमा अझै उभिन्छ वा देखावटी समानता प्रस्तुत गर्छ तर समाजमा म जन्मको आधारमा आर्य हुं भन्दै ठुल्याइ गर्छ वा ब्राम्मण को पुत्र हुँ भन्दै जातिय मुक्त्ती आन्दोलनको खिलाफ लाग्छ भने ती पनि यो जघन्य मानवीय आपरधको मतियार हो। र एक दिन तीनले इतिहासको कठघरामा नसिहतका लागि उभिनै पर्छ। वैदिक शास्त्रहरूको ज्ञान र अध्ययन पूर्व ब्राम्हण पुत्र हुन पाएकोमा गौरव गर्ने यो पंत्तिकार आज मानिसलाई जन्मको आधारमा अपमान गर्ने सामन्ती पुर्खा ब्राम्मणको जातमा जन्मेको मा अफसोच गर्छ ।

अनि आफ्ना केहि जल्लाद पुर्वजहरू द्वारा असमान ब्यवहार गरिंदा मर्माहित बन्न पुगेका दलित ,पिडीत र जात जातिहरुको मुक्तिको आवाजमा सर्हिदय साथ दिंदै क्षमा चाहन्छ। आत्म चिन्तन द्वारा सबै आत्मा र परमात्मा लाई एकै स्तरमा वोध गर्न सिकाउने , आफुनै ब्रम्हको एक अंश हो ,हरेक मानिस इश्वरको रुप भनेर चिनाउने शास्त्र वेद हो। अध्यात्मिक साधना द्वारा मनिसलाइ निर्विकार र अनन्त सुखि बनाउने हाम्रा आमुल्य बैदिक ग्रन्थ को गहन अध्ययननै नगरि बेदलाई केवल मागी खाने साधन बनाउने , अझ त्यसको अपब्याख्या गरि वर्ण वयवस्थाको उल्टो व्याख्या गर्दै समाजमा जतियताको विभेद कोर्ने पुरोहित र पाखन्ड पण्डितहरूले पनि यो गम्भीर मानविय अपराधको जवाफदेहिता लिनु पार्ने हुन्छ।

नेपालमा, भारतमा वा अन्य एशियाली देशमा अझै जातिगत असमानता रहनु मानव विकासकै लागि घातक बनेको छ। छुवाछुत र जातिय प्रथा अन्त्यका लागि अव बाहुन ,के क्षत्री ,के विश्वकर्मा एक भएरै लाग्ने बेला भएको छ। जसरी अस्ट्रेलियाका पूर्व प्रधान मन्त्री के विन रडले अस्ट्रेलियाका आदिवासी हरू माथी गोरा अस्ट्रेलियाली पुर्खाहरूले गरेको असमान ब्यवहार र दमन प्रति सम्सदबाटै माफि मागे र उत्तम पुस्ताको उदाहरण पेश गरे त्यसरिनै हाम्रा केही सामन्ती पुर्खाले जनजाती समूहलाई गरेका बलात ,हठात दमन र विभेदको प्रपन्च को हामिले माफि माग्न कन्जुस्याइ गर्न हुन्न। तर यसो भन्दैमा केही सामन्त पुर्खाले गरेको अपराधलाई आधार बनाइ जनजाति वा दलित दाजु भाइहरूले केहि निर्दोष बाहुन ,क्षेत्रीका सन्ततीलाई दोषि बनाई प्रत्याक्रमण   गर्ने होईन बरु रावण कुलको उदार विभिषण लाई रामले हात लिएर रावणनै वध गरे झै यो असमनुपातिक प्रव्रित्तीको अन्त्य गर्नु जरुरी छ।

जातिय विभेदको रोग न सभ्यताको शुरुवातमा थियो न त आधुनिक प्रजातान्त्रिक पद्दतिमानै छ, यो त केवल मध्ययुगिन सामन्ती समाजको अवशेष क्यान्सर रोग मात्र हो। यो आजको “ग्लोवल सिटिजन ” को अवधारणा आइरहेको युगमा हर मानव समाजको साझा सम्स्या हो। बाहुन ,क्षेत्रीले मन फराक पारौ , पीडित जात जातिहरूले धैर्य राखौ आनि बन्धुत्व र सहिस्णुता राख्दै जातिय विभेद प्रथाको आजकै पुस्ता बाट दाह संस्कार गरौ। यसपछि नत कुनै दिन नेपाल र विश्वले जातिय हिम्सा को मार खेप्नु पर्नेछ नत कोहि जातिय अन्यायको चपेटामा नै पर्नेछ । यसबाटनै नेपालमा उठेको जातियता र सङघियताको   विभेद अन्त्य हुनेछ .अनिमात्र धर्म र सन्स्क्रितीको बलियो जगमा अडेको नेपालका जनता विचको आपसि एकता कायमै रहने छ।९२ भन्दा बढि भाषा र १०२ भन्दा बढी जात- जाती  र असँख्य सम्प्रदाय विच झाङ्गिएको नेपाली स्वाभिमान कहिल्यै गल्ने छैन ।

[email protected]

।।।अस्तु।।

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु