आर्थिक वर्ष २०७१\७२ को नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ,व्यवस्थापिका-संसदको बैठकले आर्थिक वर्ष २०७१\७२ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

बुधवार बसेको संसदको दोस्रो बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारीत भएको हो ।

यही असार १५ गते राष्ट्रपति डा. रामवरण यादवले उक्त नीति तथा कार्यक्रम व्यवस्थापिका–संसदमा प्रस्तुत गर्नुभएको थियो भने मंगलबार र बुधवार त्यसमाथि छलफल भएको थियो ।

नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी एनेकपा माओवादी सहित नौ दलका १३ जना सांसदले ९५ वटा बँुदा र विषयमा संशोधन प्रस्ताव दर्ता गर्नुभएको थियो ।

त्यसअघि धन्यवादको प्रस्तावमा राष्ट्रपतिको सम्बोधनमा उल्लिखित आव २०७१/७२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनका प्रस्तावहरूलाई सभामुख सुवास नेम्वाङले बेग्लाबेग्लै निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

ती प्रस्ताव बहुमतबाट अस्वीकृत भएका थिए ।

व्यवस्थापिका-संसदमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले मंगलबार धन्यवादको प्रस्तावद्वारा राष्ट्रपतिबाट गरिएको सम्बोधन आर्थिक वर्ष २०७१/७२ का लागि नेपाल सरकारका नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित शिर्षकहरु