काँग्रेस नेता बमको निधन

असार १७ ।धनगढी, नेपाली काँग्रेसका नेता एवम् प्रजातान्त्रिक आन्दोलनका योद्धा किशोरकुमार बमको आज निधन भएको छ ।

धनगढीस्थित आफ्नै निवासमा अचानक रक्तचाप बढेपछि उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्जमा भर्ना हुनुभएका उहाँको उपचारका क्रममा बिहान निधन भएको काँग्रेस धनगढी नगर सभापति नृप ओडले बताउनुभयो ।

आइतबार राति रक्तचाप बढेपछि उहाँलाई तत्काल सेती अञ्चल अस्पतालमा भर्ना गरिएकोमा थप उपचारका लागि सिफारिस गरिएको थियो । एकाउन्न वर्षीय बमका आमा, श्रीमती र दुई छोरा हुनुहुन्छ ।

विसं २०३६ मा नेविसङ्घमा लागेर काँग्रेसको राजनीतिमा गर्नुभएका बमले प्रजातन्त्र स्थापना र पुनः स्थापनाका लागि भएका आन्दोलनमा कैलालीमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनका क्रममा उहाँले २०३६, २०४२ र २०४६ सालमा र २०६२/०६३ मा गरी पटकपटक जेल जीवनसमेत बिताउनुभएको थियो ।

विसं २०४६ को राजनीतिक परिवर्तनपछि भएको स्थानीय निकायको निर्वाचनमा धनगढी नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएका बम पछिल्लो पटक यही असारमा कैलाली निर्वाचन क्षेत्र नं ६ मा भएको संविधानसभाको उपनिर्वाचनमा काँग्रेसको तर्फबाट उम्मेदवारका प्रबल आकाङ्क्षी हुनुहुन्थ्यो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु