चिनियाँ आरोही वाङ्जिनलाई अन्तर्राष्ट्रिय पर्वतारोही अवार्ड

काठमाडौँ,गन्तव्य नेपाल पब्लिकेसनले २९ वर्षीय चिनियाँ नागरिक वाङ्जिनलाई अन्तर्राष्ट्रिय पर्वतारोही अवार्ड २०१४ बाट सम्मान गरेको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व समुदायमा सगरमाथाबारे फैलिरहेको नकारात्मक प्रचारलाई गलत सावित गर्न महत्वपूर्ण योगदान पुर्याएकोले गन्तव्य नेपाल पब्लिकेसनले यो अरार्ड प्रदान गरेको हो ।

सगरमाथामा गत बैशाख ५ गते गएको हिमपहिरोबाट १६ जनाको ज्यान गएपछि सगरमाथा बारेमा नकारात्मक सन्देश प्रवाह भइरहेका बेला सगरमाथाको सफल आरोहण गरेर सकारात्मक सन्देश दिएबापत चीनको बेईजिङकी वाङ्जिनलाई सोमबार एक कार्यक्रममा सम्मान गरिएको हो ।

वाङ्जिनले गत जेठ १० गते(मे २४) मा सगरमाथाको सफल आरोहण गर्नुभएको र योसहित उहाँले तीनपटक सगरमाथाको आरोहण गर्नुभएको जनाइएको छ ।
त्यसैगरी संस्थाले आरोहणमा व्यवस्थापकीयलगायतका पक्षमा सहयोग पुर्याउने एडभेन्चर आउटडोर एक्सकर्सनका प्रबन्ध निर्देशक डा कल्याणराज शर्मा र हिमालयन शेर्पा एडभेन्चरका प्रवन्ध निर्देशक फुर्वा ग्याल्जेन शेर्पा तथा पाँच जना आरोहण सहयोगी पासाङ दावा शेर्पा, दावा गेल्जेन शेर्पा, ल्हाक्पा नुरु शेर्पा, रितेन जाङ्बु शेर्पा र ल्हाक्पा ग्याल्जेन शेर्पालाई पनि सम्मान गरेको छ ।

गन्तब्य नेपाल पब्लिकेशनद्वारा प्रदान गरिएका सबै सम्मान आज यहाँ आयोजित एक कार्यक्रमकाबीच पूर्व पर्यटनमन्त्री एवम् एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष यो बोगटीले वितरण गर्नुभयो । सो अवसरमा बोगटीले मुलुकको आर्थिक सम्बृद्धिका लागि पर्यटनको महत्वपूर्ण भूमिका रहेकोले यसको प्रवद्र्धनमा सरकार निजी क्षेत्र र सरोकारवाला निकायले सक्रियतापूर्वक कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्मानित सगरमाथा आरोही वाङजिनले नेपाल र यहाँका हिमाल सुरक्षित गन्तव्य रहेको र आफूलाई असाध्यै मन परेकोले तीन पटक आरोहण गरिसकेको र फेरि पनि आरोहण गर्ने बताउनु भयो ।

पूर्व पर्यटनमन्त्री रामकुमार श्रेष्ठले अन्तराष्ट्रिय पहिचान र देशको अस्तित्वसँग जोडिएको सगरमाथाको जोखिम न्यूनीकरण तथा यसबारे संवेदनशिल र सकारात्मक सन्देश प्रवाहका लागि सबै क्षेत्रको सहकार्य जरुरी भएको बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेले यस वर्ष सगरमाथामा दुःखत घटना घटेपश्चात पनि सगरमाथाको आरोहण सुन्य नभएको तर गलत प्रचारबाजीले अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक सन्देश पुगेको भन्दै आगामी वर्षमा यसलाई सुधार गर्ने कार्यमा व्यवसायी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

सहरी विकास विकास मन्त्रालयका सचिव किशोर थापाले नेपालको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सहरमा भौतिक पूर्वाधार विस्तार, ग्रामिण भेगमा संस्कृति संरक्षण तथा यसका लागि गुणस्तरीय जनशक्तिको व्यवस्थापन हुनुपर्छ भन्नुभयो ।

नेपाल पर्यटन बोर्डका सदस्य फुर्वा ग्याल्जेन शेर्पाले सगरमाथा आरोहणमा सहयोग गर्न शेर्पाहरु सधै सहयोगी रहेको बताउदै सगरमाथा आरोहणका लागि सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ भन्नु भयो ।

गन्तव्य नेपाल पब्लिकेसनका अध्यक्ष शिव अधिकारीले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको गौरव बढाउने सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी सकारात्मक सन्देश प्रवाह गरेकोमा चिनियाँ नागरिक वाङ्जिनलाई सम्मान गरिएको बताउनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु