घोरेपानी भ्रमणमा आउने पर्यटकको सुरक्षाको लागि प्रहरीको इकाई स्थापना

असार १० ।म्याग्दी,अन्नपूर्ण पदमार्गको मुख्य गन्तव्य घोरेपानी क्षेत्रको भ्रमणमा आउने पर्यटकको सुरक्षालाई ध्यानमा राखेर जिल्लाको घार गाविसको घोरेपानीमा पर्यटक प्रहरीको इकाई स्थापना गरिएको छ ।

पर्यटकको सुरक्षा तथा उनीहरुको समस्यालाई सम्बोधन र सहयोग गर्न पर्यटक प्रहरी इकाई स्थापना भएको हो ।

उक्त इकाईमा पर्यटकको मात्र जिम्मेवारी पाएका, भाषा र पर्यटन सुरक्षासम्बन्धी तालिम प्राप्त प्रहरी जनशक्तिको व्यवस्था गरिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक जनार्दन जिसीले जानकारी दिनुभयो ।

पर्यटकको तथ्याङ्क राख्ने, पर्यटकको चोरिएका र हराएका धनमाल खोजी, पर्यटक हराउँदा र दुर्घटनामा परेको अवस्थामा उद्धार गर्नेसँगै पर्यटकलाई आवश्यक परामर्श दिन इकाईले सहयोग गर्ने प्रनाउ जिसीले बताउनुभयो ।

वार्षिक ३० हजारको अनुपातमा विदेशी पर्यटक भ्रमण गर्न आउने यस घोरेपानीमा सातजनाको दरबन्दी रहेकोमा हाल एकजना प्रहरी सहायक निरीक्षक र एकजना हबलदार खटिइसकेका छन् ।

जनशक्ति थप गर्न पहल भइरहेको छ । घोरेपानीमा जिल्लामै पहिलोपटक पर्यटक प्रहरी इकाई स्थापना गरिएको हो ।

प्रहरी इकाई स्थापना भएपछि पर्यटकहरुलाई सहज हुने र उनीहरुले सुरक्षित महसुस गरी पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने स्थानीय पर्यटन व्यवसायीको अपेक्षा छ ।

यसअघि इलाका प्रहरी कार्यालय घोरेपानीबाट पर्यटन सुरक्षासम्बन्धी गतिविधि हुने गरेको थियो ।

दक्ष जनशक्तिको अभाव र भाषागत समस्या भएपछि पर्यटक सुरक्षा हेर्ने गरी छट्टै इकाई स्थापना गरिएको हो ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु