“नक्कली संविधानसभाबाट सक्कली संविधान बन्दैन”

रोल्पाको थवाङ-४ जुरबाङमा जन्मनु भएका सन्तोष बुढामगर नेकपा-माओवादीका केन्द्रीय सदस्य हुनुहुन्छ । जहाँ दोस्रो संविधानसभाको निर्वाचनमा उहाँहरुको बहिष्कारका कारण शून्य मत खस्यो । २०३५ सालदेखि कम्युनिस्ट राजनीतिमा संलग्न बुढामगरले लगभग १० वर्ष रोल्पाकै विभिन्न विधालयहरुमा अध्यापन गर्नु भएको थियो । २०५७ सालदेखि नेकपा-माओवादीका केन्द्रीय सदस्यमा रहनु भएका उहाँसँग नेकपा�माओवादीको हालको कार्यनीति, फुटको औचित्य र संविधानसभाको निर्वाचन बारेमा गरिएको अन्तर्वार्ता :-
संविधानसभाको निर्वाचनमा तपाईहरुको बहिष्कारको प्रभाव रोल्पाको थवाङमा मात्र परेको हो ?
बहिस्कार त विभिन्न रुपले देशका सबैठाँउमा भयो । सिंगै गा.बि.स. नै शून्य गरेर थवाङमा मात्र भएको हो । वडा स्तरमा चाँही रोल्पाका धेरै वडाहरु खाली नै भएका छन् । थवाङका जनताको एकता जुन पहिला देखि नै थियो अहिले पनि यथावतै देखियो । यो निर्वाचन किन र केका लागि भनेर जनतालाई बुझाउन सकेको कारण थबाङका जनताले सहजै एकता प्रदशैन गर्दै बहिस्कार गरेका हुन् ।
तपाईहरुले बहिष्कार भनिरहँदा सरकार र निर्वाचन आयोगले त ८० प्रतिशत मत खसेको छ भन्छ नि ?
भन्दा जे भने पनि तथ्यगत रुपमा हेर्नुपर्यो । एउटा तथ्यांक पनि बाहिर आएको थियो । जस्मा ४३ प्रतिशत भन्दा बढी मत खसेको छैन । डाडुपन्यु आफ्ना हातमा भएपछि फर्जीमत खसालेर संख्या बृद्धि गराइएको हो । तिनसय व्यक्तिले १६०० मत खसालेका छन् ।
हामीले देखेकै छौ । मान्छे बिदेशमा छ यहाँ मत खसालिएका छन् । हाम्रो देशमा एक करोड ९० लाख मतदाता छन् । मतदाता नामावली दर्ता गर्नु अगावै हामीले देशभरका जनतासँग फोटो सहितको मतदाता नामावलीमा नाम नलेखाउन अनुरोध गरेका थियौ । हामीले अभियान नै छेड्यौ । हाम्रा जनतालाई यो स.संविधानसभा जनताको हितमा नभएको कुरा बुझायौ । ४० लाख बिदेशीलाई मतदाता नामावलीमा नाम राख्ने र नागरिकता दिने डिजाइनका साथ मतदाता नामावली आयो । देशव्यापी रुपमा अभियान चलाएर ४० लाख इण्डियनहरुलाई नागरिकता दिइयो । यो निर्वाचन देश र जनताका पक्षमा छैन भनेर भनेका हौ । खुल्ला रुपमा बहिस्कार गर्दा हाम्रा धेरै साथीहरुको टाउको फुट्यो, मुद्धा लगाइयो । ठूलो संख्यामा देशभक्त राष्टवादीहरु जनताले मतदाताका रुपमा दर्ता नै गरेनन् । करिब ५० लाख जनताले नामावली दर्ता नै गरेनन् । त्यती गर्दा गर्दैपनि करिब एक करोड ९० लाखले मतदाताले मतदाताका रुपमा नाम दर्ता गरेका हुन् । त्यति गर्दापनि ९० लाख जति मात्र भोट खसेको छ । एक लाख जनताले त भोट नै हालेनन् । केहि त बिदेशमा बसेका पनि होलान तर अधिकांसले बहिस्कार गरे । अर्कोतर्फ नाम नलेखाएर पनि अघोषित रुपमा बहिस्कार गरेका छन् । जुन हामीहरुले समेत नाम नै लेखाएनौ । खसेका मध्येपनि सातलाख जति रद्ध भएका छन् । हामीले जनतालाई के भनेका थियौ भने यदि पुलिस र सेना लगाएर बाद्य पारियो भने कसैलाई पनि भोट नदिने वा चार पाँच ठाँउमा भोट हालेर रद्ध गराइदिने भनेका हौ । योपनि एक खालको बहिस्कारको रुप नै हो भनेर हामीले जनतालाई प्रशिक्षण गरेका हौ । यसरी सातलाख मतसमेत बहिस्कारकै रुपमा राख्दा ठूलो हिस्सा बहिस्कारमै सामेल छ । यसरी एकदमै न्यैन मत मात्र खसेको छ । हामीले बहिस्कारलाई जनचेतनाका रुपमा भण्डाफोर गर्दे राष्ट्रवादी शक्तिहरुलाई एकिकृत गर्दै राष्ट्रघाती शक्तिहरुलाई नाङ्गेझार बनायौ । जनतालाई सचेत गराउदै राष्ट्रवादी धारका रुपमा विकास गरायौ । विचारधारात्मक हिसावले यो नै ठूलो जित हो । यो अवस्थामा कतिपय राजनीतिक दलहरुभित्रको दलालीकरणलाई भण्डाफोर गरायौ । देश, राष्ट्र र जनताको पक्षमा सिंगै उभियौ । यदी हामीले यो राष्ट्रघात हो दलाली हो भनेर आवाज नउठाएको भए विकल्प खडा नगरेको भए साना दलहरुपनि हामीसँग गोलबन्द भएर देश र जनताका पक्षमा ३३ दलले चुनौती दियौ । त्यसैकारण मत भन्दा पनि अझ ठूलो कुरा त देशभक्त धारलाई नै उभ्याइदियौ । यि सबै कुरालाई जोड्दा हाम्रो बहिस्कार शसक्त रुपमा सफल भएको छ । हाम्रो बहिस्कारलाई असफल बनाउनका निमित्त शुरुमा यहाँका दलाल राजनीतिक शक्ति, विदेशी शक्ति, सबै लागे । हाम्रो विरुद्धमा जगेडा शक्तिका रुपमा रहेको नेपाली सेनालाई नै प्रयोग गरियो । नेपाली सेना प्रयोग गर्दा पनि असफल देखेपछि सर्वोच्च अदालत प्रयोग गरे । स्टे अर्डर जारी गर्न लगाए । त्योपनि नभइसकेपछि विभिन्न मुलुकका गरी २५-२७ देशका राजदुतहरु बसेर हामीलाई रोक्न दबाब दिए । हामीले अरुले जे भनेपनि सिंगो संयन्त्र लागेर नभएर एनजिओ आइएनजिओ मिलेर हाम्रा विरुद्धमा नारा नै लगाए । साम्राज्यबादी र विस्तारवादीहरुले हामीलाई आतङककारी घोषणा गर्नुपर्छ भनेर लागे । तैपनि सकेनन् । यसरी राष्टिय र अन्तर्राष्टिय शक्तिहरु एकातिर उभिइदा पनि हामीहरु ठिङ्ग उधियौ । हामीले हाम्रो पार्टी वैकल्पिक पार्टिका रुपमा उभ्यायौ ।यो नै ठूलो सफलता हो भन्ने लागेको छ ।
अहिले इतिहासमै सबैभन्दा बढी विदेशी हस्तक्षेप भएको छ भनेर भनिन्छ तर राष्ट्रिय स्वाधिनताको लडाई लड्ने माओवादी निष्क्रिय भर्ई चुप लागेर बसेको छ नि ?
चुप लागेर बसेको होइन । महासागरको भित्र त शान्त नै हुन्छ । तर पानी भने निरन्तर रुपमा बगिरहेको नै हुन्छ । कहिले हावा र हुरीले ज्वारभाटा र सामुन्द्रिक लहर आउछ । त्यस्तै माओवादीले पनि राष्टियता, जनजीविका र क्रान्तिका पक्षमा आन्तरिक रुपमा चलेका कारण बाहिर नदेखिएको हो । कुनै दिन ज्वारभाटा ल्याउन सक्नेछ ।
अहिले विस्तृत शान्ति सम्झौताको औचित्य समाप्त भएको हो ?
हो, हाम्रो अध्यक्ष कमरेड किरणले विस्तृत शान्ति सम्झौताको औचित्य समाप्त भएको कुरा कुपण्डोलको बैठकपछिको पत्रकार सम्मेलनमै खुल्ला रुपमै घोषणा गरीसक्नु भएको छ । विस्तृत शान्ति सम्झौतालाई मानेको अवस्थामा नै पुराना मुद्दाहरु लगाएर एमाओवादी र माओवादीलाई पुराना मुद्दा लगाएर धरपकड गरिएको छ।
यस विषयमा तपाईहरुको के धारणा छ ?
यो विषय हामीले पटक पटक उठायौ । तैपनि हाम्रै साथीहरुका कतिपय मुद्धाहरु ज्यूका त्यू नै छन् । हामीले यसलाई प्रतिक्रान्तिका रुपमा लियौ । प्रतिगामी शक्तिहरु सत्तामा आईसकेपछि हिजो क्रान्तिका पक्षमा लागेका हरुलाई अझ मुक्याएर ठिक पार्ने र नयाँ शक्त्तिलाई पनि तर्साएर आफ्नो शक्तिलाई टिकाएर राख्ने र हिजोका मुद्धामामिलामा अन्झाउने कार्यमा लागेका छन् । हामीले त हिजै घोषणा गरेर यो संविधानसभाले जनताले चाहेजस्तो संविधान नबन्ने भनेर भनिसकेका छौ । र शान्ति पनि स्थापना हुदैन भनेका छौ तर केहि राजनीतिक दलका कार्यकर्ता र जनतापनि भ्रममा छन् । एमाओवादी भित्रका केही साथीहरु अझै खस्ला र खाउला भनेर आस गरेर बसिरहनु भएको छ । अहिले त अझ प्रतिगामी शक्तिहरुको बाहुल्यतामा यो संविधानसभा बनेको छ । यो नक्कली संविधानसभाबाट सक्कली संविधान बन्दैन । संविधानसभाको औचित्य सकिएको छ । जुन म्यान्डेट लिएको संविधानसभाको विघटन गरियो । जनताको आँखामा छारो हाल्ने उपया मात्र हो र सत्तालाई बचाएर राख्ने षडयन्त्र मात्र हो ।
यिनीहरुले ति पुराना मुद्धाहरुलाई ब्यूझाएर दमन गर्ने रणनीतिमा पनि नजालान भन्न सकिदैन । त्यस्को परिणाम त पाउलान । कोही मानिसहरुलाई जेल पठाउन खोजेपछि कि त जेल जानुपर्यो यात भूमिगत हुनुपर्यो । प्रतिरक्षाका लागि केहि नै केहि त सोच्नु नै पर्यो । त्यसकारण यो कदमले सहिठाँउमा पुर्याउदैन । त्यसले स्वाभाविक रुपमा अर्को द्धन्द्ध निम्त्याउछ । तिनिहरु स्वमका निमित्त पनि राम्रो कुरा होइन । यदि दिगो शान्ति कायम गर्ने हो भने क्रान्तिकारी शक्ति र डेमोक्रेटिक शक्ति विच सामझदारी सत्ता हुनुपर्दछ । कम्यूनिष्टहरुले केही समय क्रान्तिलाई स्थगित गर्ने र डेमोक्रेटिक शक्तिहरुले पनि पुरानो वेस्ट मिनिस्टर सिस्टम(असफल प्रणाली) बाट अघि बढेर वीच वीचको बाटोमा जानुपर्दछ । त्यो नभए त द्धन्द्ध निम्तने निश्चित छ ।
बहुसंख्यक नेपालीहरु कम्युनिस्ट छन् तर नेताहरु सत्ता र शक्तिमा गएपछि चाँही सिद्धान्त र व्यवहारमा मेल खाँदैन नि ?
यसलाई हाम्रो पार्टी भित्र ठूलो छलफलको विषय बनेको छ । नेपाली कम्यूनिष्ट आन्दोलनमा २००६ साल देखि यो २०७० सम्म आउदा नेताहरु सत्तामा पुगेपछि किन बिग्रने गर्छन् । बिचारमा बिचलन किन आउछ ?यो एउटा सोधको विषय बनेको छ । हाम्रो पार्टीमा नयाँ माओवादीको पुनर्गठन पश्चात ठूलो छलफलको विषय बनेको छ । नेतृत्व बिग्रदा सिङ्गो आन्दोलन नै बिग्रने रहेछ । कमरेड प्रचण्ड बिग्रदा खेरी १० वर्षको जनयुद्धले सेटब्याक भयो । यो नै कटुसत्य हो । नेतृत्वले सहि गरेको अवस्थामा चाँहि सहि ठाँउमा नै पुगिदो रहेछ भन्ने कुराको उदाहरण त माओ र लेनिन नै हुनुहून्छ । नेतृत्व गलत ठाँउमा गयो भने सहि रुपमा ग्एको आन्दोलनलाई पनि लिकबाट उछुट्याइदिदो रहेछ । भन्ने तितो अनुभव नेपालमै छ । नेपालको कम्यूनिष्ट आन्दोलनमा कमरेड प्रचण्डको बिचलनले निरासा र आक्रोसमा बदलिदिएको छ । यस्को आशंका कार्यकर्तामै पैदा गरेको छ । हामीले यस्लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सकरात्मक र नकरात्मक घट्नाक्रमका रुपमा तुलना गरेका छौ ।
नेपालकै सन्दर्भमा आउदाखेरी यो भन्दा अगाडीका कम्यूनिष्ट नेताहरु कसरी बिग्रिए र कारणहरु के के हुन ?
भनेर विश्लेषण गर्दा धेरै कुराहरु हामीले देखिरहेका छौ । यसलाई हल नगर्ने हो भने नेपालको कम्यूनिष्ट आन्दोलनले सफलता चुम्न सक्तैन । अबको चुनौति भनेको नै कम्यूनिष्ट आन्दोलनमा सहि नेतृत्व स्थापित गर्नु नै हो । हामी बिग्रनुमा मूख्य कारण त हामी आफै नै हो । बाह्य कारण चाँही सेकेण्डरी नै हो । बाह्य शक्तिहरुको हस्तक्षेप पनि कुलयोग हो प्रचण्ड पहिला विचलनकर्ता होइनन । किनकी १० वर्षमा प्रचण्ड स्वमकै नेतृत्वमा जनयुद्ध शिखरमा पुगेको पनि हो । त्यस्को जस त प्रचण्डमा नै जान्छ । यो भन्दा अगाडीका कम्यूनिष्ट नेताहरुमा पनि बिचलन त थियो नै । मालेका नेताहरुमा बिचलन आयो । केशर जंग रायमाझी मोहन बिक्रम सिंह, मनमोहन अधिकारी, सिपि मैनाली, माधव नेपाल सत्तामा पुगेपछि बिग्रिएका हुन् । हाम्रो कम्यूनिष्ट आन्दोलनमा सर्वहारा वर्गको नेतृत्व सहि नेतृत्वको अभाव र जोखिम बहन गर्न नसक्नु नै हो । प्रचण्डले रिस्क मोल्दासम्म आन्दोलन अगाडी बढ्यो । रिस्क मोल्न तयार नभएपछि आन्दोलन बिसर्जन भयो । नेताहरुमा पैदा हुने कायरता, महप्वकांक्षा पदलोलुपता र व्यक्तिगत स्वार्थका कारण आन्दोलनलाई धेरै प्रभाव पार्ने रहेछ ।
माओवादी पनि गोपालप्रसाद रिमालले ००७ सालतिर लेखेको कवितामा जस्तै हामीलाई अलमल नै प्रिय छ धर्मर नै प्रिय छ भने जस्तै छ नि ?
धेरैले अलमलमा छन् भनिरहेका छन् । तर हामी अलमलमा छैनौ । कार्यनीति र रणनीतिहरुलाई हामीले संबृद्ध गराउदै छौ । डेढ वर्षअगाडि देखि हामीले एउटा कार्यदिशा छाडेर अर्को कार्यदिशामा लागेका छौ बाहिर त हिजो २०५२ सालको माओवादीले पनि कार्यदिशा तय गर्दा के गर्ला र भनेकै थिए । धेरै मानिसले यस्तै टिप्पणी गर्थे । हाम्रा एमाओवादी नेता लीलामणि पोखरेल, नारायणकाजी श्रेष्ठ समेतले यि उग्रवादीहरु हुन तिन महिनामै सिद्धिने छन् भन्ने गरेका थिए । अझ उहाँहरुले माओवादीले जनयुद्धमा बगाएको रगत महिलाको महिनावारीसँग तुलना गर्न सकिन्छ भनेका थिए । यस्ता अपमान गर्नेहरु शान्ति प्रक्रियापछि मन्त्री बन्न तछाड मछाड गर्दे एमाओवादीमा प्रबेश गरे । हामी के गर्देछौ भन्ने कुरा त हामीलाई मात्र थाह हुन्छ । हाम्रो कार्यदिशा अलमलमा छैन । हाम्रो कार्यदिशा नै जनयुद्धको जगमा जनबिद्रोह गर्ने भन्ने नै हो । हेर्दाखेरी जनयुद्ध हो की जनबिद्रोह हो नचिनेका हुनसक्छन् । बाहिरबाट यो प्रतिक्रिया आउनु स्वाभाविक नै ठानेको छु । दाबाका साथ हामी हाम्रा् कार्यदिशा ठिक छ भनेर भन्न सक्छौ । यो हाम्रो महाधिवेसनबाट पास गरीसकेका छौ । घर भित्र पसेपछि मात्र घरका बारेमा थाह हुन्छ ।
अन्तमा केहि भन्नु छ ?
अहिले देश स्थिर मोडमा छ । सबै चुपचाप अवस्थामा छन्। देशी बिदेशी शक्ति लगाएर निर्वाचनको नाटक सम्पन्न गरेका छन् । नाटक हेरेर अनिदो भएका दर्शकहरु मस्त सुतेका छन् । भोली बिहान उठेपछि सबै समिक्षामा लाग्नेछन् । अवको संविधान कस्तो बन्छ त भनेर हेरिरहेका छन् । तर जनताको पक्षमा हुने वालै छैन । संविधान नबन्दै जल्नेवाला छ । जनताको पक्षमा छैन यस्लाई ३३ दलले मान्नेवला छैन । हामीलाई नलिइकन संभव नै छैन । क्रान्तिकारी शक्तिलाई नलिइकन यथास्थिति र पुर्नउत्थानवादी शक्तिको धरै छैन । समाज र देशलाई अगाडी बढाउनै सक्तैनन् यात उनिहरु क्रुर भएर अगाडी बढ्नु पर्यो । त्यस्को प्रतिरोधपनि सामना गर्नुपर्यो । त्यसैले बृहत रुपमा राष्ट्रिय राजनीतिकसभा मार्फत निकास निकाल्नुपर्छ । देश गुम्न लागेको छ आधा नाटक मन्चन गरेका छन् आधा बाँकी नै छ । भोली संविधानका नाममा आउदैछ त्यसको परिणाममा देश कता जान्छ भन्न सकिदैन । त्यसैले देशभक्तहरु एकै ठाँउमा उभिएर देशलाई फिजिकरण, सिक्कीमिकरण हुनबाट बचाउनुपर्छ । देशका बहुमूल्य साधन र स्रोत लुट्नेकाम संविधानसभाबाट गर्देछन् कुनै दिन हामी साँझ नेपाली भएर सुत्ने र उठ्दा बिदेशी नागरिक हुनेछौ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु