रङ्गकर्मका सर्वकालीन हस्ति, बिष्णुभक्त फुँयाल

जीवनको रङ्ग कस्तो होला ? खैरो, रातो, निलो पहेँलो । मूर्त परिभाषामा जीवनलाई कैद गर्न र रङ्गमा अथ्र्याउन गाह्रो हुन्छ । सङ्घर्षमा अनेकौँ हिँउद खाएका र पटपटी फुटेका पैतालाले अनवरत कर्म मार्गमा जीवन नापेका वयोबृद्ध रङ्गले जीवनलाई सङ्घर्षकै विम्व पोत्ला । उपमा भिराउला । सुख सयल वा मोज मस्तिमा रमाउँदै जीवन काटेका हरुले सुखद अनुभुतीका रङ्गसँगै जीवन सजिएको आभाष गर्ला । जीवन सुखकै प्रतिक मान्ला । खुसीको सङ्गम ठान्ला तर ७४ बर्षे कलाकर्मी, रङ्गयोद्धा बिष्णुभक्त फुयाँलको आँखामा जीवन उनले रङ्गमञ्चमा कलामा ढालेको दु:खी पात्र भन्दा फरक छैन । रङ्गमञ्च विभिन्न पात्रमा पोखिएर कलाका विभिन्न भाव र भङ्गिमा ढाले भन्दा भिन्न छैन जीवनयात्रा ।

bishnu bhaktta phuyal 2

भक्तपुर थाकलवासबाट सुरुभएको जीवनकथा जीन्दगीका सुख दु:खका उदार चढाव, आरोह अवरोह मिलन विछोडका वियान्त क्षणहरु, उनी अभिनित पर्दाका दृष्यमा पस्किएका संवाद एवम् दु:ख र करुणामिश्रीत आवाजहरु भन्दा भिन्न छैन । बि.सं. १९९४ साल भदौ २३ गते भक्तपुरको थाकलवासमा एक सामान्य परिवारमा उनको जन्म भयो । जन्मिएको ५ बर्षको उमेरमानै उनले पितृवात्सल्य गुमाए । आमाको साथमा उनी उहिलेको न्यौपाने गाउँ अहिलेको का.म.पा. वडा नं. ६ बौद्ध महाकांल पानीट्याङ्कीमा बसाई सरे । जीवनको दु:खदायी यात्रा प्रारम्भ भयो । सानै उमेरदेखी, मेलापात, भारोपर्म धान्नुपरेका कारण पढाईलेखाई गर्न पाएनन् । त्यतीबेला दु:खी र गरिवका छोराछोरीहरुले कक्षाकोठाको अनुहार देख्न कहाँ सम्भव थियो र । चरम गरिवी र अभावले गर्दा १४ बर्षको कलिलो उमेरमा “इण्डिया” पसे । कुल्ली, दरवानका मजवुरी देखि होटल मजदुरको रुपमा श्रम खर्चिए, सीप खन्याए, पसिनालाई धेरथोर पैसामा बदले अहँ, जीवनको रङ्ग बदलीएन । “बर्मा गए पनि कर्मसँगै” उस्तै दु:खले पछ्याउन छोडेन । घरायसी दु:खका केही छाक टारे पनि खासै केही गर्न नसेकेर अवाक् भएर नेपाल नै फर्किए । जिन्दगीको रथ गुडाउन स्वदेशका प्रतिष्ठित होटलहरु रोयल, ल्होत्से, शङ्कर, अन्नपूर्ण, सोल्टी, ग्रिन र हायात रिजेन्सी लगायत तारे होटलहरुमा मसल्ची, वेटर देखि असिस्टेन्ट कुक हुँदै सिनियर कुक सम्म भए । पौरखी र मेहनती हातहले परिकारहरुमा रङ्ग भरे । थरिथरीका खानाहरुमा स्वाद पस्कँदै जीवनलाई धेरथोर आस्वादीत बनाए ।

bishnu bhaktta phuyal 3

कुनै पनि काममा सफलता हात पार्न समय र अनुशासनको मर्म कामको धर्म बुझ्नु पर्दछ । जीवनलाई कर्मको प्रारुप ठान्नुपर्दछ भन्ने आदर्शका अनुयायी, रङ्ग कर्मका महाहस्ती कसरी कलाकर्मसँग ठोकिन पुगेत ? सानै देखी आफु भित्र रङ्गकर्मको उत्कट चाहना बोकेका उनले टोलमा हुने स-साना नाटकहरुका नजिकै बसेर हेर्ने, मञ्चमा पर्दा सार्ने पात्रका रुपमा उभ्याउने गर्दथे । होटलमा काम गर्दै गर्दा विभिन्न समूह बनाएर नाटक खेल्ने र खेल्न उत्प्रेरीत गर्दथे । बि.सं. २०१९ सालमा कर्म या: भोग (कर्मको फल) नेवारी नाटकबाट रङ्मञ्चमा पदापर्ण (डेव्यू) गरेका रङ्कर्मका अथक साधक, सर्वकालीन हस्ती आज पर्यन्त उतिकै फराँसीला र लगनशील देखिन्छन् । आफुले काम गरेका होटलका किचेनका भित्ताहरुमा नाटकका स्क्रिप्ट टाँसेर संवाद कण्ठ गर्दै उनी नाटककर्ममा उदाए । रातभरी नसुतेरै रिहर्सल गर्ने र दुरदराजका गाउँका चौतारी, विद्यालयका आँगन, खुल्ला चौर र डवलीहरुमा मान्छेहरु भेला गरेर मनोरञ्जन र सचेतनाको विगुल फुक्ने रङ्ग नायक बिष्णुभक्त फुयाँलको जीवन खोलाको पानी जस्तै चञ्चल, कलकल र गतिशील छ ।

bishnu bhaktta phuyal 4

कर्मठ, लगनशीलता, निष्ठाका प्रतिमूर्ती र आदर्शमय उनको जीवन अनुसरण योग्य छ । जुनसुकै उमेर समूहका तथा कला क्षेत्रका हस्ती एवम् नवप्रवेशी कलाकारहरुसँग पनि तुरुन्तै भिज्ने र काम गर्न सक्ने तथा सवैसँग सिक्न रुचाउने शैली एवम् शिल्पका कारण वयोबृद्ध उमेमा पनि उनको कलायात्रामा पूर्णविराम लागेका छैन । रङ्गकर्ममा उनले थकाईमारेका छैनन् ।

हरिबहादुर थापा, मुकुन्द किशोर भट्टराई, सुनिल पोखरेल देखी सौगात मल्ल आदी सम्मका समकालीन भिन्न-भिन्न पात्र र कलाकारसँग आफ्नो कला उजिल्याउँदै तथा सँगसँगै यात्रा गर्दै, कला पस्कँदै मञ्चमा अविच्छिन्न रुपमा पोखिँदै आएका छन् । उनका नाटकहरुमा मनोरञ्जन मात्र होईन चेतनाका विम्व भेटिन्छन् । राजनीतिक सचेतनाका रङ्ग समेत मिसिएको पाईन्छ । उनी बामपन्थी र प्रगतिशील विचारका पक्षपोषक हुन् । तत्कालीन नेकपा (माले) को भूमिगत राजनीति देखिनै सक्रिय कार्यकर्ता, नेपाल स्वतन्त्र कार्पेट मजदुर यूनियन, राष्ट्रिय जनसांस्कृतिक महासङ्घमा समेत आवद्ध रहँदै का.म.पा वडा नं. ६ को वडा सदस्यका रुपमा जननिर्वाचीत प्रतिनिधि समेत भए र निरन्तर निष्ठाको राजनीति समेत रहे ।

तत्कालीन समयमा ब्राम्हण परिवेशमा जन्मिएका बिष्णुभक्त फुँयालले अन्तरजातीय विवाह गरेर तत्कालीन समाज व्यवस्था भत्काए । आफु भन्दा तल्लो जातको नेवार्नी भित्र्याए । घरसमाजले ईन्कार गर्ने छि:छि: र दुर् दुर् गर्ने परिस्थितीको सामना गर्दै अन्तत: राम्रो र सकरात्मक व्यवहारका कारण घर परिवार र समाजलाई रिझाए । उतीवेला बुवाको मृत्युपश्चात आमाले दोश्रो विहे गरिन् । बग्रेल्ति भाईवहिनीहरु जन्मिए । परिवारको जमजाल भयो । जीवनले दु:खका समुद्र पार गर्नु पर्यो । दु:ख सुखमा श्रीमतीले निकै साथ दिईन् । बनिवुतो गरेर छोराहरुलाई पढाए । छोराहरुले पनि असल बाटो लिए । दु:ख कष्ट झेल्दै अनवरत जीवनमार्गमा लम्कँदै रङ्गकर्ममा रमाउँदै बिष्णुभक्त यतीवेला उमेरले डाडाँपारी पुग्न लागे । तिलचाम्ले कपाल सेतै हुन लाग्यो । केशराषीहरुले तालु छोडीसके रोगले शरिर थिलो पार्दैछ तै पनि रङ्गकर्मको यात्रामा उतिकै तेज र गतिमान् छन् । चर्चित हाँस्य टेलिसिरियल “तितो सत्यमा: रसिक कला गर्दै “यो माई लभ” मार्फत गसिप र जिवन्त अभिनय पस्कँदै छन् । २०४४ सालमा श्रीमतीको देहावशान् भए पछाडी महाकांल पानिट्याङ्कीमा आफुले दु:खजीलो गरेर ठड्याएको घरमा बाँकी जीवन व्यतित गरिरहेका छन् ।

कर्म या: भोग देखी आज सम्म अनगिन्त नाटकहरु, ६० भन्दा बढि ठूलो पर्दा र ५०० भन्दा बढी सानो पर्दामा जिवन्त कला पस्किएका विष्णुभक्त फुँयाल रङ्गकर्मका समकालीन कलाकारहरु कै आदर्श पुरुष हुन् । कला क्षेत्रमा लागेर लाखौँ दर्शकहरुको अपार माया पाएको र उमेर गुमाएको तथा रङ्गकर्ममा अझै धेरै गर्न बाँकी रहेको तथा अझै केही गर्ने चाहना भएको बताउने बिष्णुभक्त हाल नेपाल सङ्गित तथा नाट्य एकेडेकीका प्राज्ञ सभा सदस्य समेत हुनुहुन्छ । जीवनको पूवाद्र्ध दु:ख र कष्टदायी भएपनि उत्तराद्र्ध सुखद नै भएकाले सन्तुष्ट भएको बताउने कला क्षेत्रमा समर्पित यी योद्धाको बाँकी जीवन यसरी नै बितोस् । शुभकामना !

प्रस्तुती: रामनाथ खनाल

Comments

comments

सम्बन्धित शिर्षकहरु